संयुक्त क्रान्तिकारी जनपरिषद्को वैठक संयोजक क.बाबुराम भट्टराईको अध्यक्षता र ने.क.पा.-माओवादी)का अध्यक्ष क.प्रचण्डको समुपस्थितिमा केन्द्रीय कार्यालय वुद्धनगर, काठमाण्डौंमा आज भदौ १८ गते सम्पन्न भयो । वैठकको शुरूमा अध्यक्ष क.प्रचण्डले देशको राजनीति तीव्र धु्रवीकरणतिर उन्मुख भैरहेको वताउनु हुँदै राष्ट्रियता र गणतन्त्रको प्रश्नलाई केन्द्रमा राखेर सशक्त र व्यापक जनआन्दोलनको आँधीवेहरी मार्फत् अग्रगामी निकास दिनुपर्ने र त्यसनिम्ति वृहद् देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिहरूको मोर्चा कायम गर्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसैलाई मध्यनजर गर्दै वैठकले क्रान्तिकारी जनपरिषद्को संजाल स्वायत्त क्षेत्र र जिल्ला हुँदै गाउँ र नगरपालिकासम्म विस्तार गर्ने र आसन्न जनआन्दोलनको व्यापक तयारी गर्ने निर्णय गरेको छ । साथै जनपरिषद्लाई आम जनताका समस्या समाधान गर्ने र न्यायनिसाफ दिलाउन मद्दत गर्ने संयन्त्रका रूपमा क्रियाशील बनाउने ठेगान पनि भएको छ । जनपरिषद्का कमिटीहरू निर्माण गर्दा सम्वन्धित स्वायत्त क्षेत्रका जातिहरूको नेतृत्व र समानुपातिक तथा समावेशी प्रतिनिधित्वका साथै विभिन्न उत्पीडित वर्ग, महिला, दलित, अल्पसंख्यक समुदायको समेत समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने कुरामा जोड दिइएको छ । बैठकको अन्त्यमा संयोजक क.बाबुराम भट्टराईले ने.क.पा.-माओवादी)द्वारा प्रस्तुत २२-सूत्रीय माग तुरून्त पूरा नगरिएमा देशमा छिटै भीषण जनआन्दोलनको आँधीवेहरी शुरू हुने प्रष्ट पार्दै त्यसका निम्ति तयार रहन सवैसंग आग्रह गर्नुभएको थियो ।
१८ भदौ २०६४
…………………………..
डा.बावुराम भट्टराई
संयोजक
संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल
